काठमाडौं । नेपालविरुद्धको तेस्रो टी-२० खेलमा वेस्ट इन्डिज एले त्रिवि क्रिकेट मैदानमा रन वर्षा गर्यो । ब्याटिङमैत्री पिचमा वेस्ट इन्डिजका बाहुबली ब्याट्सम्यानहरूले नेपाली बलिङको धज्जी उडाए । टी-२० विश्वकपको स्क्वाड छान्नुअघि नेपालले आजको खेलमा थुप्रै परिवर्तन गरेको थियो । दुई खेलमा नेपालको इज्जत जोगाएका कप्तान रोहितकुमार पौडेलले आफूलाई बेञ्चमा राखे । नेपालको कप्तानी दीपेन्द्र सिंह ऐरीले गरेका थिए ।
प्रमुख फास्ट बलर सोमपाल कामीलाई बाहिर राखेर कमलसिंह ऐरीलाई मौका दिइएको थियो भने प्रमुख स्पिनर ललित राजवंशीको स्थानमा सागर ढकाललाई खेलाइएको थियो । तर, बलरहरूले आज निराश बनाए । वेस्ट इन्डिजको आक्रमणलाई न फास्ट बलिङले थेग्न सक्यो न स्पिनले । प्रमुख फास्ट बलर करण केसी सबैभन्दा महँगा बने । उनले ४ ओभरमा ५४ रन खाए र एक विकेट लिएर नाक जोगाए । कमल सिंह ऐरीले पनि ४ ओभरमा ५३ रन खर्च गर्दा कुनै विकेट लिन सकेनन् ।
नेपाल सबैभन्दा बलिया पक्ष भनेको स्पिन बलिङ हो । तर, आजको खेलमा नेपालका स्पिनरहरूले पनि कुनै जादु दुखाउन सकेनन् । प्रमुख स्पिनरको रूपमा खेलाइएका सागर ढकालले एक विकेट लिए, तर वेस्ट इन्डिजको रन गति रोक्न उनी पनि असमर्थ भए । उनले ४ ओभरमा ४१ रन खर्चिए । पार्ट टाइम स्पिनर कुशल मल्लले पनि २ ओभरमा २६ रन बगाए । कप्तान दीपेन्द्र सिंह ऐरीले आफूलाई बलिङमै उतारेनन् । सायद नेपालले आजको म्याच जित्ने भन्दा पनि खेलाडीहरूलाई परीक्षण गर्ने रणनीति लिएको छ । विश्वकप स्क्वाडमा समेट्न वा नसमेट्ने निर्णय लिनका लागि हुन सक्छ, नेपालले कमल सिंह ऐरी र सागर ढकाललाई पूरा कोटा बलिङ गराएको थियो ।