रुपन्देही । नेकपा एमालेले मंसिर १६ मा हुने उप निर्वाचनको लागि लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनलाई उम्मेदार बनाउने निर्णय गरेको छ ।
एमाले जिल्ला कमिटीको उपसचिव समेत रहेकि तुलाचन लाई आउदो स्थानीय निकाय उप निर्वाचनमा उम्मेदवार बनाउने निर्णय भएको हो । त्यस्तै वडा नम्बर २ को वडाध्यक्षमा जीवन रोका मगरलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।
सम्बन्धित पालिका कमिटीमार्फत उपाध्यक्षमा ३ र वडाध्यक्षमा २ जनालाई जिल्ला पार्टीले सिफारिस गरेर प्रदेश कमिटीमा पठाएको र त्यसैमध्येबाट २ जनालाई उम्मेरवार बनाउने तय भएको एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणि गौतमले जानकारी दिए ।
‘वडा, पालिकाबाट समन्वय गरेर जिल्ला कमिटीले प्रदेशमा पठाएर उम्मेदवार सिफारिसको आवश्यक सबै प्रक्रिया पूरा गरी बिहीबारको प्रदेश कमिटीको बैठकबाट उम्मेदवारको नाम तय गरिएको हो,अब यही अनुसार चुनावी तयारी हुनेछ’ उनले भने ।
यसअघि माओवादी केन्द्रबाट निर्वाचित भएकी पालिका उपाध्यक्ष भुपेन्द्र बुढा र वडाध्यक्ष जसबहादुर सिर्पालीको गत भदौ २८ गते बागलुङमा जिप दुर्घटनामा परी निधन भएपछि उक्त पद रिक्त भएको थियो ।