महोत्तरी । हिन्दूधर्मका अनुयायी आज गङ्गा दशहारा पर्व मनाउँदैछन् । पुराणअनुसार सत्ययुगमा सूर्यवंशी राजा सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथले तपस्याद्वारा गङ्गालाई पृथ्वीमा ल्याएको मानिने ज्येष्ठ शुक्ल दशमीका दिन मिथिला क्षेत्रमा यो पर्व मनाइने परम्परा छ ।
गङ्गा स्नान गर्न नसक्नेले नजिकका नदी तथा तलाउमा स्नान गरी यो पर्व मनाउँछन् । सूर्योदयअघि स्नान गरेर नुहाएको जलाशयलाई गङ्गा रूप मानेर पूजाअर्चना गरिन्छ । यसैगरी शिवजीलाई जलाभिषेक गरेर यो दिन उपवास बसे कायिक (शरीरबाट हुने), वाचिक (बोलीबाट हुने) र मानसिक (चेतनाबाट जानाजान हुने)१० प्रकारका महापाप यस दिनको स्नान र उपवासले नास हुने जनविश्वास छ ।