पर्वत । निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक छ वर्षसम्म पनि पूरा हुनसकेको छैन ।करिडोरको पर्वत खण्डअन्तर्गत मिर्मिबाट फलेवाससम्मको ३३ किलोमिटर सडक कालोपत्र भइसकेको भए पनि फलेबास–अर्मादी खण्डको १४ किलोमिटर सडक ठेकेदारको ढिलासुस्तीका कारण अलपत्र छ ।
नौ करोड १७ लाख ४९ हजार दुई सय ४५ को लागतमा निर्माण हुन लागेको उक्त खण्डको फलेवास ढिकबाट मोदीवेणीसम्म ट्र्याक खुलिसकेको छ । मोदीखोलामा मोटरेबल पुल दुई निर्माण भइसकेको छ । मोदीवेणीबाट अर्मादीसम्मको तीन किलोमिटर ट्र्याक गत वर्ष खुलेको भए पनि सवारीसाधन सहज रूपमा चल्नसक्ने अवस्था छैन ।
पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय इन्जिनियर सुरेन्द्र गौतमका अनुसार मोदीवेणीबाट अर्मादीसम्मको खण्डमा ठूलो भिर रहेको र कडा चट्टान विष्फोटक पदार्थ प्रयोग गरेर फुटाउनुपर्ने भएकाले ढिलाइ भएको हो । विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने ठाउँको माथिपट्टि कुश्मा–कैया झोलुङ्गे पुल छ ।
उक्त खण्डको स्तरोन्नतिको जिम्मा पाएको सूर्य कन्ट्रक्सनले चट्टान फुटाउन वैकिल्पक उपायको खोजी भइरहेको जनाएको छ । उक्त खण्ड १४ किलोमिटर लामो छ । कार्यालयले ट्रयाक खोल्ने, ग्राभेल गर्ने र कल्भर्ट तथा टेवा पर्खाललगायतको काम गर्नेगरी ठेक्का सम्झौता गरेको थियो ।
कालीगण्डकी करिडोरको पर्वत खण्डमा ७० किलोमिटरभन्दा बढी भाग पर्छ । पर्वत खण्डअन्तर्गत सेतीवेणीबाट फलेवाससम्म कालोपत्र भइसके पनि बाँकी १४ किलोमिटरको स्तरोन्नतिका लागि बजेट विनियोजन नभएको आयोजना कार्यालयले जनाएको छ ।