घोराही । घोराही उपमहानगरपालिका-१८ घोरदौराबासीले वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन् । यहाँ गर्मी मौसममा अझ धेरै खानेपानीको समस्या हुने गरेको छ । आठ किलोमिटर टाढाबाट ल्याइएको पानीको मुहान गर्मी बढेसँगै सुकेपछि समस्या हुने गरेको हो ।
उपल्लो घोरदौरा निवासी सरस्वती विक घरनजिकैको धारामा पानी सुकेपछि ४५ मिनेट टाढा धरमपानी बाट पानी बोकेर ल्याउने गरेको बताउँछन्। हरेक दिन खानेपानी जोहो गर्नै समस्या हुने गरेको उनले बताए । विकले भने, “गर्मी बढेसँगै गाउँमा पानीको सङ्कट हुन्छ ।”
उज्यालोमा पानी भर्दा घण्टौँसम्म लाइन बस्नुपर्ने र पालो नआउँदै धारा सुक्ने भएकाले धेरैजसो राति नै पानी भर्न आउने गरेको स्थानीय बताउँछन् । घोराही उपमहानगरपालिका–१८, घोरदौरा निवासी ५७ वर्षीय शोभा अधिकारी करिब एक घण्टा दुरीमा रहेको धरमपानीस्थित धाराको पानी गाउँभरिकाले खानुपर्ने अवस्था भएको बताउँछन् गाउँमा पानीको सङ्कट भएसँगै खानेपानी भर्न अचेल घोरदौरावासीलाई बिहान २/३ बजे उठ्नुपर्ने बाध्यता रहेको उनले बताए ।
घोराही उपमहानगरपालिका(१८ का वडाध्यक्ष भरतमणि अर्यालले अहिले खानेपानी योजनाको काम भइरहेकाले आगामी वर्षसम्म समस्या समाधान हुने बताए। घोरदौराका स्थानीयले वर्षौैँदेखि खानेपानी समस्या झेल्दै आएकाले दीर्घकालीन रुपमा समाधान गरिने उनको भनाइ छ ।
घोरदौराका ७० घरधुरीले एउटै धाराबाट पानी बोक्नुपर्ने बाध्यता रहेको छ । खानेपानी समस्याका कारण बालबालिकाको पढाइसमेत प्रभावित हुने गरेको छ ।