काठमाण्डौं । माओवादी केन्द्रका नेता तथा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अहिले चुनावको टिकट हत्याउन काठमाण्डौंमा दौडधुप गरिरहेका छन् । भट्ट प्रदेश सभाको टिकटको लागि अहिले काठमाण्डौंमा विभिन्न नेताहरुको घर धाइरहेका छन् । उनि यस अघि डोटी जिल्लाबाट प्रतिनिधि सभाको लागि माओवादी केन्द्रबाट एकल उम्मेद्वार सिफारिस भएका थिए ।
एउटामात्रै निर्वाचन क्षेत्र रहेको डोटी नेकपा एसको भागमा पर्ने निश्चित भएपछि उनि पुनः प्रदेश सभाको टिकट पाउन नेताहरु सँग लबिङमा छन् । उनले केही समय अघि सम्म आफू संघीय निर्वाचनमा प्रत्यक्ष बाट उम्मेदवार बन्ने नभए समानुपातिक बाटो रोज्ने बताएका थिए ।
यस्तै, समानुपातिक तर्फ (खस आर्य) मा उनको नाम पहिलो नम्बरमा नै सिफारिस गरिएको थियो । अहिले समानुपातिक तर्फबाट पनि प्रतिनिधि सभा सदस्य हुने सुनिश्चित नभएपछि प्रदेश सभामै उठ्ने उनले सोच बनाएका छन् । स्रोतका अनुसार समानुपातिकको पहिलो र दोस्रो नम्बरमा आउन चाहेका भट्टले त्यो सम्भव नदेखेपछि कागज पत्र नै बुझाएनन्।
अहिले सम्म भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, शक्ति बस्नेत र उपराष्ट्रपति नन्द किशोर पुन लगायतका नेतालाई भेटेर प्रदेश सभाको लागि इच्छा’ जाहेर गरेको स्रोतले बताएको छ । प्रतिनिधि सभामै केन्द्रित भएका भट्ट प्रदेश सभा तर्फ पनि इच्छा राखेपछि अहिले डोटीमा माओवादी केन्द्र भित्रै विवाद सुरु भएको छ ।