काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेनले भेट गरेका छन् । शुक्रवार बिहान खुमलटारमा पुगेर राजदूत फेनले प्रचण्डसँग भेटवार्ता गरेका हुन् । राजदूत रोबले नेपालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट टुंगोमा पुर्याएकोमा खुसी व्यक्त कार्यान्वयनका निम्ति बेलायत सरकारको पूर्ण सहयोग रहने बताए ।
भेटमा प्रचण्डले नेपालको प्रतिनिधिसभाले पीडितमैत्री न्यायमा जोड दिँदै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरेको बताए । पीडितमैत्री न्याय, परिपूरण र सम्मानका लागि आवश्यक पर्ने क्षेत्रमा बेलायत सरकारको सहयोग रहने विश्वास व्यक्त गरे । आफू सरकारको नेतृत्वमा रहँदा संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अघि बढाउन पहल लिएको बताउँदै विधेयक निष्कर्षमा पुग्दा त्यसले विश्वशान्तिका निम्तिसमेत योगदान पुग्ने बताए । भेटका क्रममा अध्यक्ष प्रचण्डले गोर्खाजहरूले उठाउँदै आएका सवालहरू बेलायती सरकारबाट सम्बोधन हुने विश्वाससमेत व्यक्त गरे ।