विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख, सभामुख र मुख्यमन्त्री हिक्मत कार्की विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै छ । कार्कीले दायर गरेको रिटको सुनुवाइ न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको इजलासमा परेको छ । सो मुद्दाको सुनुवाइ तेस्रो नम्बरमा छ ।
अघिल्लो बुधवार पनि कार्कीले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको थियो । सो इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो। उनको मुद्दामा जेठ ९ गते मुख्यमन्त्रीको रूपमा हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको थियो ।
त्यसअघि वैशाख २८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको थिएन । सो इजलासले छलफलमा बोलाउने आदेश गरेको थियो । एकल इजलासले छलफलमा बोलाउँदा केही संवैधानिक प्रश्नहरू उठाएको थियो ।
केन्द्रीय सत्ता गठबन्धन परिवर्तन भएपछि एमाले माओवादीले सङ्कल्पको प्रस्ताव प्रदेश सभाबाट निवर्तमान मुख्यमन्त्री कार्कीलाई विश्वासको मत लिन सन्देश दिएका थिए । उनले सङ्कल्प प्रस्तावले वैशाख २६ गते भित्र विश्वासको मत लिन दिएको समय सीमामा विश्वासको मत नलिएपछि नयाँ सरकार गठनका लागि आव्हान भएको थियो ।
संविधानको धारा १६८(५) अन्तरगत सरकार गठनको आव्हान भएपछि एमाले संसदीय दलका नेता हिक्मत सरकार गठनको दाबी पेस गरेका थिए । दाबी अनुसार वैशाख २७ गते एमाले माओवादीका प्रदेश सभा सदस्यहरूको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री भएसँगै उनले विश्वासको मत समेत पाएका छन् ।