वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्तागठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी जसपा का उम्मेदवार राजेशमान सिंहले १५ हजार ३ सय ३६ मत सहित अग्रता लिएका छन् । आइतबार बिहान ६ : ३० बजेसम्म ६५ हजार ५ सय ५३ मत गणना हुँदा जसपाका उम्मेदवार राजेशमानले नेकपा एमालेका उम्मेदवार एवं निवर्तमान मेयर विजय कुमार सरावगीलाई १५ हजार ३ सय ३६ मत बढी मतले पछाडि छोडेका छन् ।
राजेशमानलाई ३२ हजार १ सय ५८ मत प्राप्त भएकोमा उनका निकटतम प्रतिद्वन्द्वी सरावगीले भने १६ हजार ८ सय २२ मत प्राप्त भएको छ । अब करिब २९ हजार मात्रै मत गन्न बाँकी रहेको छ ।
मेयरका अर्का उम्मेद्वार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका गिरीश गिरीले भने २ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि गठबन्धनबाटै कांग्रेसका उम्मेदवार इम्तियाज आलमले २२ हजार १ सय ५ मतका साथ अग्रता लिइरहेका छन् ।
उपमेयरमा लोसपाका उम्मेदवार पुरुषोत्तमलाल झाले ५ हजार २ सय ६६ , राप्रपाकी बिना जयसवालले ४ हजार १ सय ३४ र स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले २ हजार ९ सय ९५ मत पाएकी छन् । बैशाख ३० मा भएको निर्वाचनमा वीरगन्ज महानगरका ३२ वटै वडामा गरि ९४ हजार ६ सय मत खसेको थियो ।