हेटौडा । उद्योगले उत्पादित वस्तु बिक्रीको अवस्था खस्किँदा हेटौंडा औद्योगिक क्षेत्र सञ्चालनमा चुनौती बनेको छ । कच्चा पदार्थको सङ्कट, लागत वृद्धि र बैंकको ब्याजदरका कारण यी उद्योगको उत्पादन ४० प्रतिशतमा सीमित भएको छ । हाल औद्योगिक क्षेत्रमा १ सय १५ उद्योग सञ्चालनमा छन् । हाल ती उद्योग ४० प्रतिशत क्षमतामा सञ्चालनमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । तीन सिफ्टमा सञ्चालित उद्योगहरु अहिले एक सिफ्टमा मात्र सिमित छन् । उद्योगको क्षमता घट्दै जाँदा कामदार र कर्मचारी काटिएका छन् ।
कार्यालय प्रमुख भोजराज बिराडीका अनुसार कोभिड–१९ पछिको आर्थिक मन्दीले यहाँका सम्पूर्ण उद्योगधन्दा प्रभावित भएका छन् । आर्थिक मन्दीका कारण रोकिएका दुई दर्जन उद्योगको ठेक्का रद्द गर्ने प्रक्रिया सुरु भएको छ । केही उद्योगको ठेक्का खारेज गरेको भन्दै कार्यालयविरुद्ध जिल्ला अदालतमा मुद्दा पनि परेको उनले बताए । उद्योगको अवस्था दयनीय भएकाले भाडा तिर्न गाह्रो भएको उद्योगीले गुनासो गरेका छन् । उद्योग वाणिज्य संघका पदाधिकारीहरुका अनुसार यहाँ सञ्चालित उद्योगहरुले उत्पादित वस्तुको महँगो मूल्य, उत्पादित वस्तुको बिक्री नहुनु र आर्थिक मन्दीका कारण उद्योगको अवस्था नाजुक बनेको छ ।