सङ्खुवासभा । यहाँस्थित जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो । साउनयता भाइरल ज्वरो र डेङ्गीका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए । उनले भने, “शय्या नहुँदा अहिले बिरामीलाई भुईमा राखेर उपचार गरिरहेको छौँ ।
जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । अहिले अस्पतलमा आउने अधिकांश बिरामी ज्वरो, डेङ्गी र स्क्रब टाइफसका भेटिएका सूचना अधिकारी खत्रीले बताए । उनका अनुसार वैशाखयता स्क्रब टाइफसका एक सय ६० र डेङ्गीका २७ जना बिरामी भेटिएका छन् । गत आर्थिक वर्षमा एक हजार एक सय ४४ जनामा डेङ्गु, पाँच सय २० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको थियो ।