काठमाडौँ । कोभिड–१९ कालमा लागु गरिएको ६ फिट सामाजिक दूरी र बालबालिकालाई ६ अनिवार्य मास्क अध्ययन तथा वैज्ञानिक आधारबिना लागू गरिएको खुलासा भएको छ । अमेरिकी सरुवा रोग सम्बन्धी काम गर्ने संस्थान एनआइएआइडीका कोभिडकालमा निर्देशक रहेका डाक्टर एन्थोनी फाउसीले कुनै अध्ययन र तयारीबिना त्यस्ता नियम लागु गरेको बताएका छन् ।
अमेरिकी सदनको कोरोना भाइरस महामारीबारेको समितिमा बोल्दै उनले यस्तो भनेको कुरा बेलायती अखबार डेली मेलले खुलासा गरेको छ ।६ फिटको सामाजिक दूरीको नियम कसरी ल्याउनु भयो भन्दा डाक्टर फाउसीले भनेका छन्, ‘मलाई थाहा छैन । यो त्यत्तिले आफैँ आयो ।’तपाईँले ६ फिट दूरीको वैज्ञानिक अध्ययन गर्नु भएको थियो भन्ने प्रश्नमा फाउसीले नगरेको स्विकारेका छन् । यस्तै सांसदहरूले सोधेको बालबालिकालाई मास्क लाउने कुरामा कुनै अध्ययन वा प्रमाण भएर गरिएको भन्ने संकेतको प्रश्नमा पनि डाक्टर फाउसीले कमजोर उत्तर दिएका छन् । उनले भनेका छन्, ‘छैन ।’
बालबालिकालाई मास्क लाउँदा असर हुने वा नहुने दुवै खालका परस्पर विरोधी अध्ययनहरू समेत भएको फाउसीले खुलाएका छन् ।यस्तै कोभिड कालका औपचारिक मेलहरूको आदान प्रदान हुने फाउसीको निजी इमेल खाताका सबै इमेलहरू डिलिट गरिएको बारेमा पनि छानबिन सुरु भएको छ । डाक्टर फाउसीका निजी सहयोगी डाक्टर डेभिड मोरेन्सले फाउसीका इमेलहरू डिलिट गरेको बताइएको छ । उनी पनि अमेरिकी सदनको समितिको छानबिन मातहतमा आएका छन् ।
यस्तै अमेरिकी सदनको समितिमा बयान दिने क्रममा फाउसीले कोभिडको उत्पत्तिबारेमा धेरै षडयन्त्र सिद्धान्तहरू आएको बताएका छन् ।उनले आफूले सहयोग दिएका चीनको प्रयोगशालाको गुणस्तरबारेमा चासो नदिएको समेत स्विकारेको डेली मेलले उल्लेख गरेको छ ।बेलायती ट्याब्लोइड डेली मेलले रिपब्लिकन सांसदहरूले सार्वजनिक गरेको फाउसीको सवाल जवाफ प्रकाशन गरेर यो कुरा सतहमा ल्याएको हो ।