ट्रेलर सार्वजनिक भएसँगै चर्चामा आएको फिल्म ‘बाटो : रोड टु डेथ’ यही शुक्रबार (जेठ ३२ गते)बाट प्रदर्शनमा आउने तयारीमा छ । तर, निर्माण टिमले फिल्मको प्रचारमा भने ध्यान दिएको छैन । यद्यपि, निर्माण टिमले प्रदर्शनको पूर्वसन्ध्यामा बुधबार ललितपुरस्थित लबिम मलमा प्रिमियर भने आयोजना गर्यो । जहाँ फिल्मलाई राम्रो तारिफ मिल्यो ।
विशेषगरी फिल्मको प्राविधिक पक्षको प्रशंसा भएको छ । निर्देशक ज्ञानेन्द्र देउजाले प्राविधिक रुपमा फिल्म उत्कृष्ट बनेको बताए । उनले भने, ‘प्राविधिक रुपमा यो फिल्म उत्कृष्ट छ । सिनहरु एकदमै डरलाग्दो छ । थ्रिल मन पराउनेलाई यो फिल्म उपयुक्त छ ।’
कलाकार राजाराम पौडेलले पनि फिल्मको प्राविधिक पक्षको प्रशंसा गरे । ‘अहिलेसम्म नेपालमा बनेका फिल्ममध्ये यो एकदमै नयाँ जनराको छ,’ उनी भने, ‘यो फिल्म टेक्निकली रुपमा अब्बल छ । र, निर्देशकले हरेक कलाकारबाट निचोरेर काम निकाल्नुभएको छ ।’
त्यस्तै, अभिनेता दिव्यदेवले फिल्ममा निर्देशकले बेग्लै संसार निर्माण गरेको बताउँदै दर्शकहरुलाई मनपर्ने विश्वास व्यक्त गरे । नेपालीसहित तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको यो फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा प्राप्त प्रतिक्रियाले आफूलाई उत्साह थपेको बताए । उनले भने, ‘नेपाली फिल्मको स्ट्याण्डर्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने मेरो चाहना हो ।
मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, उत्पल झा, पशुपति राई, राजेन थापा, आभास अधिकारी, किरण शाही, गणेश उपाध्याय लगायतको अभिनय रहेको फिल्मका निर्माता चन्दन झा हुन् । दक्षिण भारतीय फिल्मका शरण ऋषिले छायांकन गरेको यो फिल्म करिब २ वर्ष अगाडि नै तयार भइसकेको थियो । फिल्मको प्राविधिक काम धेरैजसो दक्षिण भारतमा भएको हो ।