यही शुक्रबार (बैशाख २८)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘खजुरे ब्रो’बाट पूर्व मिस इन्टरनेशनल नेपाल नीति शाहले डेब्यु गरेकी छन् । उनकै नामका कारण फिल्मको पनि चर्चा भइरहेको छ । मंगलबार साँझ काठमाडौंको सिभिल मलस्थित क्यूएफएक्स हलमा भएको फिल्मको प्रिमियरमा उनको अभिनयको परीक्षण भयो ।
नीतिको पहिलो फिल्म भएकाले प्रिमियरमा उनी नजिकका अभिनेत्रीदेखि पूर्व मिस नेपालसम्मको उल्लेख्य उपस्थिति देखिएको थियो । अभिनेत्री सन्ध्या केसीले नीतिको अभिनय ‘नेचुलर’ रहेको भन्दै प्रशंसा गरिन् । ‘नीतिको अभिनय ‘नेचुलर’ छ । र, उसलाई ठूलो पर्दामा देख्दा रमाइलो लाग्यो । फिल्म राम्रो छ,’ उनले भनिन् ।
प्रिमियरमा मिलेको प्रतिक्रियाले खुसी देखिएकी नीतिले फिल्ममा आफूले राम्रो काम गर्ने प्रयास गरेको बताइन् । मैले आफ्नो तर्फबाट १ सय १० प्रतिशत दिएकी थिएँ,’ उनी भन्छिन्, ‘अरु फिल्ममा आफ्नो अभिनय क्षमता अझै निखार्दै जानेछु । यो अवसर दिनुभएकोमा निर्देशकसहित सबैलाई धन्यवाद भन्छु ।’
मोडल ओसिन सिटौलाले फिल्म ‘रिफ्रेसिङ’ लागेको अनुभव सुनाइन् । फिल्ममा नीति एकदमै सुन्दर देखिएको समेत उनको भनाई थियो । फिल्म हेर्न नीतिका आमा-बुबा पनि प्रिमियरमा पुगेका थिए । दुवैले पहिलो प्रयासमा पनि छोरीले राम्रो काम गरेकोमा खुसी व्यक्त गरे । नीतिका बुबाले भने- ‘उसले चाहेको कुरा राम्रोसँग गरेको छ ।
फिल्ममा खजुरे पात्रको भूमिकामा अभिनय गरेका अभिनेता रेअर राईले फिल्मका लागि आफूले ११ केजी तौल बढाएको अनुभव सुनाए । उनले विरामी हुँदा पनि फिल्ममा काम गरेका रहेछन् । ‘फिल्मका लागि एक महिनामा ११ केजी मोटाएको थिएँ । कति दिनसम्म नुहाइनँ । फोहोर र धुलोले गर्दा म विरामी परेको थिएँ । एक हप्ता त मैले एन्टीबायोटिक खाएरै सुटिङ गरेको थिएँ । काम गर्दा दुःख पनि भयो र मज्जा पनि आयो । अहिले पर्दामा हेर्दा खुसी लाग्यो,’ उनले भने ।
फिल्मका अर्का अभिनेता महेश त्रिपाठीले प्रिमियरमा प्राप्त प्रतिक्रियाले उत्साहित बनाएको बताए । ‘प्रतिक्रिया राम्रो पाएँ । फिल्म हेर्दा ‘इन्जोय’ गर्नुभएको छ,’ उनले भने, ‘फिल्म सुरु हुनुभन्दा अगाडि मलाई डर थियो । तर, हलबाट निस्किँदा सबैले बधाई दिएपछि एककिसिमले मन शान्त भएको छ ।’ उनले फिल्ममा धरानको पात्रमा अभिनय गर्न गाह्रो भएको पनि अनुभव सुनाए ।