अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको फिल्म ‘दान्भी’ अब आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि फिल्मलाई जेठ १० गते ल्याउने तयारी गरिएको थियो । तर, यो मितिमा दुई ठूलो फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ आउने भएपछि फिल्मको रिलिज सारिएको हो ।
देव मगर र अनुप गडाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन् भने कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह-निर्मातामा छन् । यसमा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा तथा संवाद, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ ।
रुपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा पूजाको जोडी कुन्साङ बम्जनसँग बाँधिएको छ । दुई दर्जन बढी म्यूजिक भिडियोमा काम गरिसकेका कुन्साङले यही फिल्मबाट डेब्यु गरेका हुन् । त्यस्तै, ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यु गरेका किरण श्रेष्ठको पनि फिल्ममा अभिनय छ । यो फिल्म उनको करिअरका लागि विशेष मानिएको छ ।