पाँच वर्ष लामो प्रेम सम्बन्धलाई पूर्ण विराम लगाएपछि अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठबीच बोलचाल समेत बन्द भएको थियो । तर, ब्रेकअपपछि पनि उनीहरु फिल्ममा फेरि एकसाथ काम गर्न तयार भएका छन् । ‘छड्के’ निर्देशक निगम श्रेष्ठको नयाँ फिल्म ‘भाइरल गोर्खे’मा उनीहरुको जोडी बाँधिन लागेको हो ।
सौगात र सृष्टिका साथै बुद्धि तामाङ र लक्ष्मी गिरीको पनि अभिनय रहने फिल्मलाई अमर महर्जनले छायांकन गर्नेछन् । लमजुङ र गोर्खामा छायांकनको तयारी गरिएको फिल्मले सामाजिक सञ्जालले निम्त्याएको राम्रो र नराम्रो दुवै पक्षलाई देखाउने निर्देशक श्रेष्ठको भनाई छ । उनी निर्देशित पछिल्लो रिलिज फिल्म ‘छड्के २’ हो ।
उट्पट्याङ काम गरेर सामाजिक सञ्जालमा भाइरल हुन खोज्ने पात्रको कथामा फिल्म बन्न लागेको पोस्टरले संकेत गर्छ । सौगातले आफ्नो फेसबुक पेजमा पोस्टर सेअर गर्दै ‘हाँस्नलाई तयार हुनुस्’ भनेका छन् । फिल्मको यही बैशाख ६ गतेबाट छायांकन सुरु हुने निर्देशक श्रेष्ठले बताए ।