काठमाडौं । यस वर्षको ब्लकबस्टर फिल्म ‘जारी’ फेम्ड निर्देशक उपेन्द्र सुब्बाले २०८२ सालमा ‘जारी २’ ल्याउने घोषणा गरेका छन् । एक मिडियामा अन्तर्वार्ता दिदै सुब्बाले आफु सुरुवातमा ‘जारी’को श्रंखलामा काम नगर्ने मनस्थितिमा रहे पनि अहिले आएर ‘जारी–२’ ल्याउने निर्णयमा पुगेको बताए ।
सबैले दबाब दिएपछि यसबारे दयाहाङलाई ‘फुर्सद छ त रु’ भनेर सोध्दा ‘त्यसका लागि समय मिलाउँला नि दाइ’ भनेपछि जारी २ बनाउने जाँगर पलाएको सुब्बाको स्वीकारोक्ति छ । तर, २०८२ का लागि आफू ‘जारी २’ भन्दा पनि एक बंगाली साथीको कथामा काम गर्ने मनसायमा रहेका थिए । अब भने उक्त कथालाई केही समयका लागि पछाडि धकेलेर ‘जारी २’मा अगाडि बढ्ने सुब्बाले बताए ।
‘जारी’को श्रंखला ब्राण्डको कारण व्यापार गर्छ भनेर हो कि कथाले नै मागेकाले हो ? भन्ने प्रश्नमा सुब्बाले भने, ‘कथाले मागेर पनि हो । साथै देश विदेशदेखि साथीभाइले बनाउनुपर्छ भनेर साह्रै भनिरहे । यहीँका वितरक साथीहरूसँग बस्दा, कहिलेकाहीँ हलका साथीहरूसँग बस्दा पनि ‘जारी २’ कहिले आउँछ भनेर सोधिरहे । यस्तो हुँदा मोह पनि जाग्दो रहेछ पैसाकै कुराले गर्दा पनि । सबै पैसा आउँछ भन्छन्, लोभ पनि देखाउँछन् (लामो हाँसो) । म पनि छु भनेर भनिदिन्छन् ।’
यही फिल्मबाट दयाहाङ राई र मिरुना मगरको जोडी समेत हिट भयो । यो हिट जोडीलाई लिएर बनेका आधा दर्जन जति फिल्म बनिसके भने उस्तै हाराहारीमा बाँकी फिल्महरू प्रदर्शनको तयारीमा छन् । अहिले भने दया–मिरुनाकै जोडीलाई लिएर सुब्बाले लेखन तथा निर्देशन गरेको फिल्म ‘मनसरा’ आउँदो वैशाख २१ बाट प्रदर्शनमा आउँदैछ ।