यो बर्ष नेपाली फिल्म क्षेत्रका चलेका नायिकाहरूको फिल्म हलमा लागे । यो बर्ष रेखा थापा, स्वस्तिमा खड्का, मिरुना मगर, पूजा शर्मा, आँचल शर्मा, वर्षा राउत, साम्राज्ञी राज्यलक्ष्मी शाह, वर्षा सिवाकोटी, केकी अधिकारी, उपासना सिंह ठकुरी, बेनिशा हमाल लगायतका नायिकाहरूको फिल्म हलमा लाग्यो । तर, यो बर्ष अधिकांश नायिकाहरूलाई आफ्नो क्रेज धान्न मुश्किल परेको देखिन्छ ।
नायिका मिरुना मगरको यो बर्ष ३ वटा फिल्म रिलिज हुँदा २ वटा चले । ‘जारी’ले ब्लकबस्टरको व्यापार गर्दा उनको डिमाण्ड पनि चुलियो । फिल्म ‘नांगो गाउँ’ले निर्मातालाई सुरक्षित बनायो । तर, फिल्म ‘रंगेली’ नचल्दा मिरुनाको यो बर्षको अन्त्य सुखद बन्न सकेन ।
नायिका स्वस्तिमा खड्काको यो बर्ष ३ वटा फिल्म रिलिज भए । जसमा ‘ऐँचो पैँचो’ असफल भयो । फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन र दिमाग खराब’ हिट भए । यी दुबै फिल्मले स्वस्तिमाको फ्लपको यात्रा रोकिदिए ।
नायिका वर्षा राउतका लागि यो बर्ष सुखद बन्यो । फिल्म ‘ऐँचो पैँचो’ नचले पनि उनको कामको भने सर्वत्र तारिफ भयो । बर्षको अन्त्यमा रिलिज भएको फिल्म ‘महाजात्रा’ले बम्पर व्यापार गरिरहँदा वर्षाका लागि उत्साह पैदा भइरहेको छ । एकातिर कामको तारिफ, अर्कोतिर व्यापारिक रुपमा पनि हिट । वर्षा यो बर्ष सर्वाधिक लक्की नायिकाको रुपमा चिनिन पुगिन् ।