नाटक हुँदै सहायक चरित्रबाट फिल्ममा आफ्नो करिअर सुरु गरेका अभिनेता दयाहाङ राई अहिले नेपाली फिल्मकै सबैभन्दा ठूलो ‘स्टार’ बनेका छन् । विगत २/३ वर्षयता फिल्म इन्डस्ट्री नै उनमा निर्भर छ भन्दा अतिशयुक्ति हुँदैन ।अहिले उनको हातमा २० वटाभन्दा बढी छन् र उनीमाथि ३० करोडमाथिको लगानी छ ।
केही वर्षयता दयाहाङ नेपाली फिल्मको ‘नम्बर वान’ नायकको स्थानमा छन् । यस वर्ष पनि उनी यो स्थानबाट डगमगाएका छैनन् । गएको ११ महिना (बैशाखदेखि फागुनसम्म)मा उनको ८ वटा फिल्म रिलिज भए । त्यसमध्ये ४ फिल्म फ्लप हुँदा बाँकी दुई फिल्म हिट भए भने एक सुपरहिट र एक ब्लकबस्टर सावित भयो ।
त्यसैगरी, कात्तिकमा रिलिज भएको दयाहाङको अर्को फिल्म ‘दिमाग खराब’ ९ करोडमाथिको कमाईसहित सुपरहिट सावित भयो । गत माघ २६ गते उनका आफ्नै दुई फिल्म ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ रिलिज भए । यसमध्ये ‘दयारानी’ लगानी उठाउँदै हिटको सूचीमा पर्यो । फिल्मको व्यापार २ करोड ६० लाखमाथि छ । ‘हात्तीछाप’ भने १ करोड १० लाखमा समेटिँदै फ्लप बन्यो ।
बैशाख १ गते उनका आफ्नै दुई फिल्म ‘जारी’ र ‘बिहे पास’बीच भिडन्त भएको थियो । त्यसमध्ये ‘जारी’ले १७ करोडमाथिको कमाई गर्दै ब्लकबस्टरको रेकर्ड राख्यो । ‘बिहे पास’ भने १ करोडमा टुंगिँदा फ्लप बन्यो । जेठमा आएको उनको अर्को फिल्म ‘नीरफूल’ पनि चलेन । यसको कमाई २५ लाख पनि छैन । गत भदौमा आएको ‘नाङ्गो गाउँ’ले भने ३ करोडमाथिको कमाई गर्दै हिट बन्यो ।
अब यही चैत ३० गते दयाहाङको अर्को फिल्म ‘डिग्री माइला’ प्रदर्शनमा आउँदैछ । यस वर्षको अन्तिम दिनमा रिलिज हुन लागेको फिल्मको व्यापार यस वर्ष नै जोडिनेछ । यो फिल्म पनि हिट हुनसक्ने विश्लेषण गरिएको छ । आगामी बैशाखमा पनि उनका केही आशातित फिल्महरु रिलिज हुँदैछन् । यो हिसाबले दयाहाङको यस वर्षको विदाई र अर्को वर्षको सुरुवात दुवै राम्रो हुने देखिन्छ ।