काठमाडौं । फिल्मको लम्बाईमा एउटा सीमितता हुन्छ । फिल्म धेरै लामो हुँदा हल रिलिजमा समस्या आउने गर्छ । यसैले २ घण्टाको फिल्मलाई ‘परफेक्ट’ मानिन्छ । तर, विश्वमा योभन्दा लामो धेरै फिल्म बनेका छन् । बलिउड फिल्म ‘एनिमल’ नै ३ घण्टा २१ मिनेट लामो थियो । नेपालमै पनि ‘अगस्त्य’ र ‘रंगेली’ झण्डै ३ घण्टाका थिए । तर, विश्वमा एउटा यस्तो फिल्म छ, जुन हेरिसक्न मात्र चार दिन लाग्छ ।
त्यो फिल्म हो, ‘द क्योर फर इन्सोमनिया’। यसले संसारकै लामो फिल्मको रेकर्ड बनाएको छ । सन् १९८७ मा रिलिज गरिएको यो फिल्मको लम्बाई ८७ घण्टा (५२२० मिनेट) छ । अर्थात् यो फिल्म ३ दिन र १५ घण्टापछि सकिन्छ । जोन हेनरी टिमिस चतुर्थको निर्देशन रहेको फिल्मले गिनिज बुक अफ रेकर्डमा समेत नाम लेखाएको छ । तर, रोचक कुरा छ भने फिल्ममा कथा र प्लट छैन ।
यो फिल्म ती मानिसहरुका लागि बनाइएको थियो, जसलाई निन्द्रा नलाग्ने समस्या (इन्सोमनिया) छ । जोसेफ एम्म माटुनेको निर्माण रहेको फिल्मलाई निर्देशक जोनले नै खिचेका थिए ।
फिल्ममा अभिनेता एल.डी. ग्रोबनले झण्डै ५ हजार पेज लामो कविता पढेका छन् । ३१ जनवरी १९८७ मा रिलिज भएको फिल्म ३ फेब्रअरी १९८७ मा सकिएको थियो । फिल्मको केही भागमा ‘पोर्नोग्राफिक’ कन्टेन्ट पनि छ र अहिले यो फिल्मको सम्पूर्ण प्रतिलिपि हराइसकेको बताइन्छ ।