काठमाडौं । सरकारले बुधवार १० अर्ब आन्तरिक ऋण उठाउँदैछ । ११ वर्ष अवधिको विकास ऋणपत्र २०९२ नाम दिएर उठाउन लागेको ऋणको बोलकबोल आज हुँदैछ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले किन्न सक्नेछन् ।
आज १० बजेदेखि बोलकबोल खुला भइसकेको छ । दिउँसो ३ बजेसम्म बोलकबोलमा भाग लिन पाइने छ । यो ऋणपत्रको निष्कासन भने १७ गते हुनेछ । यसको साँवा २०९२ साउन १७ गते भुक्तानी हुनेछ । ब्याज भने ६/६ महिनामा भुक्तान हुनेछ । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिने सकिनेछ । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । सरकारले चालूआर्थिक वर्षको बजेटमा आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिएको छ ।