काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बंगलादेश घटना अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका रहेको टिप्पणी गरेका छन्। तत्कालीन प्रधानमन्त्री शेख हसिना स्वयंको अभिव्यक्ति लगायतका विषयहरूबाट घरेलु परिघटनामा मात्र सीमित नरहेको बताए।
उनले भनेका छन्, ‘यसमा अन्तर्राष्ट्रिय द्वन्द्व र भूराजनीतिको यथेष्ट भूमिका छ । साथै, हिन्दू अल्पसङ्ख्यकमाथिको निकृष्ट दुर्व्यवहारको निन्दनीय अतिवादको पक्ष पनि उजागर भइसकेको छ । यो ज्यादै गम्भीर पक्ष हो, जसप्रति सबै समयमै सचेत हुनुपर्छ । अन्यथा वैदेशिक हस्तक्षेप र धार्मिक अतिवादी द्वन्द्वले सबै तिर एउटा वा अर्को रूपमा ज्यादै नकारात्मक नुकसानदाय प्रभाव देखाउन सक्ने खतरा लाई नजरअन्दाज गर्न सकिन्न ।’ देश र जनताप्रतिको आफ्नो दायित्व पूरा नगरी अन्य पक्ष, प्रवृत्तिलाई दोष लगाएर मात्र समाधान प्राप्त नहुने बताए।
देश र जनताप्रतिको सरकारको निष्ठा र कामले नै जनताको साथ सहित राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड दिएका छन्। त्यसो त माओवादीका अध्यक्ष प्रचण्डले पनि शनिवार पार्टी बैठकमा बोल्दै बंगलादेशकी प्रधानमन्त्री हसिना र आफूलाई एकै ढंगले हटाइएको टिप्पणी गरेको थिए।