अभिनेता सुरज सिंह ठकुरीले ५ वर्षपछि फिल्ममा कमब्याक गर्ने भएका छन् । पछिल्लोपटक फिल्म ‘सभर लभ’ (सन् २०१९) मा लेखकको भूमिकामा अभिनय गरेका उनले प्रदीप शाहीको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्लो’बाट कमब्याक गर्न लागेका हुन् । मंगलबार इन्स्टाग्राममार्फत ठकुरी स्वयंले फिल्ममा आफू आबद्ध भएको जनाए ।
‘सभर लभ’पछि सुरज टेलिभिजन कार्यक्रममा बढी व्यस्त रहे । लामो समय कान्तिपुर टेलिभिजनमा ‘इट्स माई शो’ चलाएका उनले ‘रोडिज’को पाँचौं सिजनलाई होस्ट समेत गरेका थिए । अब भने उनी फिल्मलाई पनि प्राथमिकता दिने योजनामा छन् । आगामी भदौपछि छायांकन सुरु गर्न लागिएको ‘एक्लो’मा सुरजसँगै सुनिल थापा, विजय लामा, प्रदीप खड्का, बेनिशा हमाल, दीया पुन, कविता नेपाली, एवनराज उप्रेती, बेलायती अभिनेता जेमी बेकन लगायतको पनि अभिनय रहनेछ ।
फिल्मले सन् २०३० सम्म एक घातक महामारीका कारण मानिसले पृथ्वी ग्रह छोड्न बाध्य भएको कथा भन्नेछ । यसलाई निर्देशक शाही स्वयंले लेखेका हुन् ।
शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा ह्याम्साएर एकाउन्टेनले सहकार्य गरेको छ । सन् २०२५ मा रिलिज लक्ष्य राखिएको फिल्मको कार्यकारी निर्मातामा क्षितिज सुवेदी खत्री छन् । फिल्मका लागि यतिबेला नेपालमै पहिलोपटक अन्तरिक्ष ‘रकेट सुट’को निर्माण भइरहेको जानकारी प्राप्त छ ।