काठमाडौं । पछिल्लो खेलमा नामिबियालाई सहजै हराएर सुपर ८ मा स्थान बनाएपछिको प्रेस मिटमा अष्ट्रेलियाका बलर जोस हेजलउडले एउटा ‘खेल भावना विपरीत’ को टिप्पणी गरे । उनले भने, ‘अब हामी ईंग्ल्यान्डलाई विश्वकपबाट नकआउट गराउन स्कटल्यान्डसँगको खेलमा जितको अन्तराललाई म्यानुपुलेट गर्न प्रयास गर्नेछौं ।’
हेजलउडको यो अभिव्यक्तिले विश्वकपमा तरङ्ग उब्जेको छ भने आईसीसी पनि झस्किएको छ । हेजलउडको दाबीजस्तै के अष्ट्रेलियाले स्कटल्यान्डविरुद्धको खेलमा मिलेमतो गर्छ ? अमेरिका र वेस्ट इन्डिजमा जारी टी २० विश्वकपको एउटा बलियो दाबेदार ईंग्ल्यान्ड पनि हो । तर विश्वकपको पहिलो चरणमा दुई म्याच खेल्न बाँकी रहेको ईंग्ल्यान्ड पहिलो जितको खोजीमा छ । स्कटल्यान्डविरुद्ध ईंग्ल्यान्डको पहिलो खेल वर्षाले बिथोलिएको थियो ।
ईंग्ल्यान्डले अब ओमान र नामिबियामध्ये एक टीमसँग हार्यो भने उसको सुपर ८ मा पुग्ने सम्भावना समाप्त हुनेछ । तर दुवै खेल जित्यो भने नेट रनरेटका आधारमा ईंग्ल्यान्ड र स्कटल्यान्डमध्ये एउटा सुपर ८ मा जान्छन् । यी दुई टिमको भवितव्य अष्ट्रेलियाको हातमा छ । यदि अष्ट्रेलियाले स्कटल्यान्डमाथि फराकिलो जित हासिल गर्यो भने ईंग्ल्यान्डको भाग्य खुल्न सक्छ । यदि अष्ट्रेलियाले साँघुरो जित निकाल्यो भने स्कटल्यान्डको सम्भावना बढ्छ । यदि अष्ट्रेलिया हार्यो भने ईंग्ल्यान्ड सोझै नकआउट हुन्छ ।
हेजलउड टिमका कप्तान नभएर एक खेलाडी मात्र हुन् । तर, प्रेसमिटमा अष्ट्रेलिया टिमकै तर्फबाट बोल्न उपस्थित थिए उनी । उनको अभिव्यक्तिले अष्ट्रेलियाले कतै ईंग्ल्यान्डलाई घर पठाउने चक्करमा खेल भावना विपरीतको रणनीति बनाएको त होइन भन्ने आशंका उब्जेको छ ।यदि साँच्चै नै अष्ट्रेलियाले स्कटल्यान्डसँग हारेमा वा साँघुरो जित निकालेमा गम्भीर प्रश्न खडा हुन सक्छ । म्याच अफिसियलहरुले कारबाहीका लागि सिफारिस गर्न सक्नेछन् ।
खेलमा साँच्चै मिलेमतो भएको हो कि होइन भनेर निर्णय लिनु अम्पायरहरूको लागि अप्ठेरो काम हो । राम्ररी खेल्दाखेल्दै पनि हार्न सकिने वा कठिन जित निकाल्ने सम्भावना हुन्छ नै ।नियतवश नै त्यसो गरेको हो भनेर ठहर्याउने काम चुनौतीपूर्ण हुन्छ । त्यसमाथि अष्ट्रेलियाले आफू सुपर ८ मा पुगिसकेको हुँदा अन्तिम खेलमा केही प्रमुख खेलाडीलाई रेस्ट दिने सम्भावना पनि छ ।