नेपाली फिल्मका सर्वाधिक सफल अभिनेता राजेश हमाल ६०औं वसन्तमा टेकेका छन् । २०२१ साल जेठ २७ गते पाल्पा जिल्लाको तानसेनमा जन्मिएका उनले आफ्नो जन्मदिनको अवसरमा आइतबार बिहान पत्नी मधु भट्टराईको साथमा बूढानीलकण्ठ मन्दिरमा वैदिक विधिअनुसार पूजापाठ गरेका छन् ।
नेपाली फिल्ममा गर्विलो छवि बनाएका हमालले आफ्नो करिअरमा २ सयभन्दा बढी फिल्ममा काम गरेका छन् । झण्डै तीन दशक नेपाली फिल्मलाई काँध हालेर स्टारडमको मानक खडा गरेका हमालको त्यसबेला कुन हदसम्म जगजगी थियो भने उनको अनुहार पोस्टरमा राखेकै भरमा मात्रै पनि फिल्म चल्थे । धेरै नेपाली निर्माताले उनलाई फिल्म खेलाएरै लोभलाग्दो आर्थिक हैसियत बनाए ।
‘देउता’, ‘शंकर’, ‘सडक’, ‘प्रतिज्ञा’, ‘ज्वाला’, ‘पृथ्वी’, ‘भिष्म प्रतीज्ञा’, ‘अल्लारे’ जस्ता फिल्मबाट ‘स्टारडम’को उचाइँ बढाएका उनलाई करिअरको उत्कर्षमा रहँदा फिल्मको संख्यात्मक वृद्धिमा मात्र जोड दिएको टिप्पणी अझै पनि हुने गर्छ । किनकि, उनले अभिनय गरेका फिल्ममध्ये सम्झनलायक थोरै मात्र छन् । त्यसमध्येमा ‘बसन्ती’ र ‘देउता’ पर्दछन् । तर, उनका धेरै फिल्म सफल भने छन् ।
अभिनेता हमाललाई भारतीय मिडियाहरुले बलिउड सुपरस्टार अमिताभ बच्चनसँग समेत दाँजेर समाचार बनाइरहेका हुन्छन् । सन् २०१९ मा आजतक मिडियाले हमालको चर्चा गर्दै लेखेको थियो, ‘राजेश हमाल नेपालका एक यस्ता सुपरस्टार हुन्, जसलाई त्यहाँ ‘महानायक’को उपाधि दिइएको छ ।
कुनै समय वर्षमै १२/१५ वटासम्म फिल्ममा काम गरेका हमाल विगत ६/७ वर्षदेखि भने फिल्ममा देखिएका छैनन् । उनी अभिनीत पछिल्लो फिल्म ‘सकुन्तला’ थियो । यसपछि उनले केही फिल्म सम्झौता गरे पनि निर्माण हुन सकेनन् । यद्यपि, फिल्ममा काम नगरे पनि उनको व्यस्तता घटेको छैन । कहिले म्यूजिक भिडियो त कहिले देश/विदेशका कार्यक्रममा हमाललाई भ्याइनभ्याइ हुने गर्छ ।