दम्माम। विश्वकप २०२६ को एसियाली छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपालले बिहीबार यूएईसँग प्रतिस्पर्धा गर्दै छ। खेल साउदी अरबको दम्मामस्थित प्रिन्स मोहम्मद बिन फहद रंगशालामा नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । समूहमा नेपालले ४ खेल खेल्दा एक अंक पनि जोड्न सकेको छैन भने तेस्रो चरण नपुग्ने पक्का भइसकेको छ। यता यूएई पनि ४ खेल खेल्दै सबै जितेर तेस्रो चरण पुगिसकेको छ।
नेपालले पहिलो खेलमा यूएईसँग ४–०, दोस्रो खेलमा यमनसँग २–०, तेस्रो खेलमा बहराइनसँग ५–० र चौथो खेलमा बहराइनसँग नै ३–० गोलको हार ब्यहोरेको थियो। समूहमा हरेक टोलीले प्रत्येकसँग होम एन्ड अवेका आधारमा दुई दुई खेल खेलिरहेका छन्। नेपालले यूएईसँग हुन लागेको खेल घरेलु मैदानमा खेल्नुपर्ने भएपनि दशरथ रंगशाला तयार नभएको भनेर प्रश्न उठेपछि साउदी अरबमा आएर खेल्न लागेको हो। फिफा वरियतामा यूएई नेपालभन्दा एक सय ११ औँ स्थान माथि छ। यूएई ६७ र नेपाल एक सय ७८ औँ स्थानमा रहेका छन्।
नेपाली टोलीका प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनेसले एसिया कप छनोटका लागि आत्मविश्वास बलियो बनाउन यूएईसँगको खेल खेल महत्वपूर्ण रहने बताए। हाम्रो टिम विगतभन्दा अनुभवी छ र हरेक खेलमा प्रदर्शन सुधार गर्दै लगेका छौँ। त्यसैले निकै बलियो यूएईविरुद्ध हामी अझ सुधारिएको प्रदर्शन गर्न चाहन्छौँ’, प्रशिक्षक एनेसले भने। यूएईका प्रशिक्षक पाउलो बेन्टोले आफुहरु जितका लागि खेल्ने बताए। ‘हामी आफ्नो खेल खेल्ने छौँ र समूह विजेता बनेर तेस्रो चरण पुग्न चाहन्छौँ’, उनले भने।
समूहमा यूएईको ४ खेलबाट १२ अंक छ। दोस्रो स्थानमा रहेको बहराइनको ४ खेलबाट ९ अंक छ। समान खेलपछि यमनको ३ अंक छ भने नेपालले अंक जोड्न सकेको छैन। समूहका शीर्ष दुई टोली तेस्रो चरणमा पुग्नेछन् भने अन्तिम दुई टोली एसिया कपको तेस्रो चरणको छनोटमा अवसर पाउनेछन्।