काठमाडौं। वेस्ट इन्डिज ‘ए’विरुद्ध घरेलु मैदानमा ५ खेलको टी-२० शृङ्खला हुनै लाग्दा सुरुमा घोषणा गरिएको १६ सदस्यीय टोलीमा थिएनन्- कमलसिंह ऐरी । तर अन्तिम समयमा नेपाल क्रिकेट संघ (क्यान) ले चार जना खेलाडीलाई समावेश गर्दा फास्ट बलर कमलको नाम छुटेन । नेपालले उक्त शृङ्खला खेल्न थालेको केही दिनपछि विश्वकपका लागि घोषणा गरिएको १५ सदस्यीय राष्ट्रिय टोलीमा कमलले पनि बाजी मारेका थिए।
कमलले २ वर्षयता टी-२० अन्तर्राष्ट्रिय खेलहरू खेलेका छैनन्। अन्तिम पटक सन् २०२२ को अप्रिलमा उनले मलेसियाविरुद्ध कीर्तिपुर मैदानमा खेलेका थिए। त्यस खेलमा उनले २० रन खर्चिएर २ विकेट लिएका थिए। कमल त्यसयता लामो समय चोटबाट गुज्रिए। आयरल्यान्ड ‘ए’विरुद्ध उनले तीन वटा टी-२० खेल्दा ५ विकेट लिए । उनले पहिलो खेलमा ३९ रन खर्चिएर ३ विकेट हात पारेका थिए। आयरल्यान्ड ‘ए’विरुद्ध भएको ५० ओभरको पहिलो खेलमा २१ रन खर्चिएर ४ विकेट लिएका थिए।
कमलले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा ४ वर्षअघि डेब्यु गरेका हुन्। सन् २०२० को फेब्रुअरीमा घरेलु मैदानमा ओमानविरुद्ध खेल्दै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने सन् २०२१ को अप्रिलमा मलेसियाविरुद्ध खेल्दै डेब्यु गरेका थिए। त्यस खेलमा उनले १६ रन खर्चिएर ३ विकेट लिएका थिए।
कमलले हालसम्म १० टी-२० अन्तर्राष्ट्रिय खेल खेल्दै १५ विकेट लिएका छन्। उनको बलिङ इकोनोमी ६.४९ छ। उनले एकै खेलमा १५ रन खर्चिएर ३ विकेटसम्म लिएका छन्। सन् २०२२ को फेब्रुअरीमा भएको खेलमा उनले ओमानविरुद्ध उक्त सफलता हात पारेका थिए। यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ३ खेल खेल्दै २ विकेट लिएका छन् भने ५.७३ बलिङ इकोनोमी छ।