अभिनेत्री मलिका महतले फिल्मी करिअर सुरु गरेको जम्माजम्मी पाँच वर्ष पुगेको छ । अब उनी अभिनीत चौंथो फिल्म ‘सतीदेवी’ प्रदर्शनको पखाईमा छ ।गत वर्ष फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो, जहाँ मलिका जुत्ताको माला र कालोमोसो दलेको अवस्थामा चित्रित थिइन् ।
यही बैशाख ६ गतेदेखि ८ गतेसम्म रामेछाप जिल्लामा आयोजना भएको नेपाल ग्रामीण चलचित्र महोत्सव (नेरुफ्फ)मा उनले उत्कृष्ट अभिनेत्रीको जुरी मेन्सन अवार्ड प्राप्त गरेकी हुन् । व्यस्तताले गर्दा महोत्सवमा सहभागी नपाएकी उनलाई फिल्मका निर्देशक तथा लेखक लक्ष्मण सुवेदीले यही सोमबार अवार्ड हस्तान्तरण गरे । पहिलोपटक अवार्ड जित्दा उनमा बेग्लै खुसीको भाव देखिएको छ ।
यसपछि फिल्मको चर्चा उत्कर्षमा पुग्यो । तर, प्रदर्शन मिति अझै घोषणा गरिएको छैन । यद्यपि, फिल्मले प्रदर्शन अगावै विभिन्न फेस्टिभलमा महत्त्वपूर्ण विधामा अवार्ड जितिरहेको छ । र, मलिकाले पनि यही फिल्मबाट पहिलोपटक अवार्ड घर भित्राएकी छन् ।
मलिकाले अवार्ड उचालेको तस्वीर फेसबुकमा सेअर गर्दै लेखेकी छन्, ‘एक्टिङ करिअरमा मलाई यो अवार्डले अत्यन्त धेरै हौसला, प्रेरणा र उर्जा थपेको महसुस गरेकी छु ।’ फिल्मको शीर्ष भूमिकामा आफूलाई चयन गरेर मिहिनेत र स्वतन्त्रताका साथ अभिनय गराएकोमा उनले निर्देशक सुवेदीप्रति आभार व्यक्त गरेकी छन् । ‘सतीदेवी’ मलिकाको करिअरका लागि महत्त्वपूर्ण मानिएको छ ।