दिव्याको जन्म नेपालमा भए पनि हुकाई/पढाई अमेरिकामा भयो । पिताका कारण बाल्यकालदेखि नै उनलाई फिल्मप्रति आकर्षण थियो । ‘एक्टर’भन्दा अगाडि पनि उनलाई धेरै फिल्मबाट प्रस्ताव पुगिसकेको थियो ।अमेरिकामै ब्याचलरमा अभिनय कोर्स गरेकी दिव्याले नृत्य र हर्स राइडिङ समेत सिकेकी छन् ।
उनी ‘एक्टर’मै काम गर्नका लागि नेपाल आएकी हुन् । ‘म अमेरिकाबाट फर्किएको २/३ हप्ता भयो । म अमेरिकामै काम गरिरहेको थिएँ । तर, मलाई जन्मभूमि नै फर्किएर कर्म गर्न मन थियो । त्यही भएर म फर्किएँ,’ उनी सुनिइन् । उनले आफू प्रदीप खड्काको ‘प्रेमगीत’को बेलादेखि ‘फ्यान’ रहेको समेत बताइन् । अब एकसाथ काम गर्नका लागि आफू उत्साहित रहेको उनको भनाई थियो ।
मंगलबार ‘एक्टर’को शुभमुहूर्तमा अभिनयप्रतिको रुचिबारे उनले भनिन्, ‘पहिलादेखि नै फिल्ममा आउँछु भन्ने सोच बनाएको थिएँ । त्यसका लागि अभिनयदेखि नृत्यसम्म सबै राम्रो हुनुपर्छ भनेर सिकिरहेको थिएँ । बच्चैदेखि मलाई अभिनयमा सौख थियो । अवार्ड जितेको जस्तो गरेर ऐनाको अगाडि हात हल्लाउँदै धेरैपटक अभिनय गरेको छु । अब यो सपना पनि पूरा हुन्छ भन्नेमा विश्वास छ ।’