रातो साडीको विशेषताबारे एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘यो हामीले सुन्दै आएको कथा र अन्धविश्वाससँग जोडिएको छ । बोक्सीसँग सम्बन्धित चाहिँ कस्ता कथा छन् भने पूर्णिमा या औंसीको दिन शक्ति प्राप्त गर्न विशेषगरी विवाहित महिलाले रातो साडी लगाएर बोक्सीको विद्या लिन्छन् भन्ने छ । पूर्णिमा या औंसीमा पिपलको बोटमा पूजा गर्ने र अजंगको पिपलको बोट उचालेर काशीमा डुबाएर लिएर आउन सक्ने भनेर त्यो क्यारेक्टरलाई ‘डेभलप’ गरिएको छ ।’
छायांकनको बेला आफ्नो हुलिया र मनोदशा बेग्लै रहेको केकी स्मरण गर्छिन् । अघिल्ला फिल्मभन्दा यसमा फरक हिसाबले काम गरेको उनको अनुभव छ । ४/६ महिना क्यारेक्टरमा बसेर काम गरेको भोगाई सुनाउँदै उनी भन्छिन्, ‘त्यो पात्रको मनोदशा महसुस गर्न असाध्धै गाह्रो थियो । एउटा नाटकीय ढंगले गुज्रिएको पात्र, जो समाजमा बस्दैन, १०/१५ वर्षदेखि बोक्सीको आरोप लागेको छ, उसले कसरी सोच्छ होला भन्ने मनोदशामा काम गर्नपर्ने थियो । यो मेरो लागि एकदमै चुनौतीपूर्ण थियो ।’
उनलाई यो कथा कहाँबाट र कसले कल्पना गर्यो थाहा छैन । यदि यसको सम्बन्ध महिलाको हिंसासँग नभएको हुन्थ्यो भने यो हनुमान जत्तिकै शक्तिशाली क्यारेक्टर हो भन्ने उनलाई लाग्छ । तर, त्यसलाई समाजले अन्तैतिर लैजानु उनी दुर्भाग्यपूर्ण मानिन्छ । यसले गर्दा नै ‘बोक्सीको घर’ बनेको उनको तर्क छ ।
यही बैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘बोक्सीको घर’लाई सुलक्षण भारतीले निर्देशन गरेका हुन् । उनी स्वयं फिल्ममा केकीको श्रीमानको भूमिकामा प्रस्तुत छन् । रमा थपलिया, सुपला सापकोटा, श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला आदिको पनि अभिनय रहेको फिल्ममा केकीका बाबु तथा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता हुन् ।