अगामी जेठ १० गते नेपाली फिल्मबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’ र अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘दान्भी’पछि अब यो मितिमा तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘पूजार सार्की’ पनि आउन लागेको हो ।
विकास सुवेदीको लेखन रहेको फिल्ममा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, प्रेम सुब्बा, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । संगीतकार सुवास भुसालको निर्माण रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन छ । जातीय विभेदविरुद्धको कथामा आधारित भएर फिल्म बनेको छ ।
शुक्रबार ‘पूजार सार्की’को दुई पोस्टर सार्वजनिक गर्दै जेठ १० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको हो । पोस्टरमा आर्यन, प्रदीप र पल आ-आफ्नो चरित्रमा चित्रित छन् । उनीहरुको क्यारेक्टर लुक्स यसअघि नै सार्वजनिक भइसकेको थियो । पोस्टरले यी तीन पात्र साथी रहेको बुझ्न सकिन्छ । निर्देशक दिनेश राउतले निर्माता र वितरकको सल्लाहअनुसार प्रदर्शन मिति घोषणा गरिएको बताए ।