समय १८० डिग्रीमा बदलिएको छ । त्यसैले त अहिले विद्यालय तहमा खेलकुदलाई कसरी अभिन्न रुपले जोड्ने भन्ने चिन्तन गर्न थालिएको छ । यसले खेलकुदलाई ‘अतिरिक्त गतिविधि’ मात्र नभई ‘अनिवार्य’ बनाउनुपर्छ भन्ने अभ्यास सुरु भएको छ । यो अभ्यास जेभियर इन्टरनेसनल स्कुलमा देख्न पाइन्छ ।
पहिले विद्यालयमा शिक्षक वा पढाउने जनशक्ति मात्र जरुरी ठानिन्थ्यो । अहिले पाठ्यपुस्तक पढेर मात्र विद्यार्थीको सम्पूर्ण क्षमता विकास हुँदैन भन्ने तथ्य बोध भएको छ ।खासगरी खेलकुदबाट जुन किसिमको प्रशिक्षण वा अनुभव प्राप्त गर्छन्, त्यसलाई उनको लेखपढसँग कसरी जोड्न सकिन्छ भनी हेर्न थालिएको छ । यो पढाइ भन्दा भिन्न होइन, बरु पढाइकै एउटा अंश हो ।
कुनै विद्यार्थी क्रिकेट खेल्न रुचाउँछन्, कोही कविता लेख्न, कोही नेतृत्व गर्न, कोही अभिनय गर्न । यी फरक रुचिका विद्यार्थीलाई सोही अनुरुप क्षमता विकास गर्नु उपयुक्त हुन्छ । यसका लागि पठनपाठनसँगै खेलकुद जस्ता गतिविधिलाई जोड दिनुपर्छ भन्ने मेरो बुझाइ हो ।
मेरो व्यक्तिगत अनुभव के हो भने खेलकुदले नेतृत्व र रणनीतिक क्षमता विकास गर्छ । अनुशासनको पालना गर्न प्रेरित गर्छ । सामूहिक काम गर्ने तौरतरिका सिकाउँछ । पाठ्यक्रमसँगै यी कुराहरुलाई अगाडि लैजान सकियो भने पठनपाठन पृथक र दिगो हुन्छ ।
यसरी खेलकुदको सिकाइलाई पढाइको सिकाइसँग कसरी तालमेल मिलाउन सकिन्छ भनेर अहिले हामी गृहकार्य गरिरहेका छौं ।