फिल्म ‘एक मुठ्ठी बादल’को छायांकन सकेर पोखराबाट फर्किएकी नायिका आँचल शर्मा चैत्र ३० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘डिग्री माइला’का लागि पत्रकारहरुमाझ उपस्थित भइन् । यो फिल्म रिलिज भए लगतै उनले फिल्म ‘वर एण्ड बधु’को छायांकन सुरु गर्नेछिन् ।उनको हातमा ‘पिताम्बर, दुःखी आत्मा’ लगायतका फिल्म पनि छन् ।
आँचलले अहिले आफूलाई व्यस्त बनाउँदा खुशी लागेको बताइन् । भनिन्–‘डिग्री माइलाको छायांकन सकेर रुम्जाटारबाट फर्किँदै गर्दा हामीले ८ घन्टाको बाटो तय गरेका थियौं । मलाई घरमा गएर पाँच दिन आराम गर्न मन थियो । तर, दयाहाङ राई दाइले फेरि १० घन्टाको यात्रा गरेर अर्को फिल्मको काम सुरु गर्नुभएको थियो । यो देखेर म आफै छक्क परेँ । अहिले मलाई आफ्नो व्यस्तता देखेर मज्जा आइरहेको छ ।
आखिर, किन आँचललाई फिल्म मेकरहरुले पत्याइरहेका छन् त ? उनी भन्छिन्–‘यो समयको कुरा हो । यसको दिन लाग्या छ भन्या जस्तै भएको हो । फेरि, निरन्तर काम गरिरहेपछि विश्वास पनि जितिने रहेछ ।