संसारभर सफल फिल्मको सिक्वेल बनाउने ट्रेन्ड चलेको छ । बलिउडमा पनि यसको होडबाजी छ । नयाँ नाममा भन्दा सिक्वेल नै बढि बनिरहेका छन् । अभिनेता अजय देवगनसँग मात्र ८ वटा सिक्वेल फिल्म छन् । यतिबेला उनी दुईवटा सिक्वेल फिल्म ‘सिंघम ३’ र ‘रेड २’को छायांकनमा व्यस्त छन् ।
यस वर्षका लागि अजयको पहिलो फिल्म ‘शैतान’ गत मार्च ८ मा रिलिज भएको थियो । यसले ठूलो सफलता पाएको छ । अब आगामी वर्ष यसको सिक्वेल निर्माणको तयारी गरिएको छ । यस वर्ष अजयको ‘मैदान’ (अप्रिल १०) र ‘सिंघम अगेन’ (अगस्ट १५)मा पनि प्रदर्शनमा आउने तयारीमा छन् ।
अब आगामी जुनदेखि अजयले लण्डनमा अरु दुई सिक्वेल फिल्म ‘दे दे प्यार दे २’ र ‘सन अफ सरदार २’को छायांकन गर्दैछन् । ‘दे दे प्यार दे २’को पहिलो सेड्युल १५ दिनको राखिएको छ । त्यसपछि उनले ‘सन अफ सरदार २’लाई समय दिनेछन् । यसका साथै उनीसँग ‘गोलमाल ५’, ‘धमाल ४’, ‘दृश्यम ३’ र ‘शैतान २’ पनि छन् । यसरी हेर्दा अहिले उनीसँग सिक्वेल फिल्म मात्र देखिएको छ ।