काठमाडौं। यतिबेला निर्माता सन्तोष सेन फिल्म ‘बलिदान’ निर्माणको तयारीमा जुटेका छन् । कलाकारको बलियो ‘लाइनअप’ बनाउने प्रयासमा रहेका उनले शीर्ष भूमिकामा अभिनेता विराज भट्टका छोरा (समीर भट्ट)लाई लिएका छन् । गत हप्ता सार्वजनिक उनको क्यारेक्टर लुक्सले राम्रै चर्चा पायो । फिल्मको खलपात्र (भिलेन)मा भने सौगात मल्ल र अर्पण थापा देखिँदैछन् ।
अब ‘लिड लेडी’मा निर्माता सेनले स्थापित अभिनेत्री लिन्छन् वा नयाँ अनुहार भित्राउँछन् भन्ने चासो धेरैमा छ । यतिबेला फिल्मवृतमा भने नीति शाहको नाममा चर्चामा छ । उनले फिल्ममा काम गर्ने मोटामोटी सहमति नै भइसकेको बताइन्छ। अघिल्लो हप्ता उनले ‘बलिदान’को पोस्टर सेअर गर्दै निर्माता सेनलाई शुभकामना समेत दिएकी थिइन् ।
निर्माता सेनले भने नीति निश्चित नभइसकेको बताएका छन् । ‘फिल्मलाई लिएर नीतिसँग हाम्रो कुराकानी भएको सत्य हो तर, निश्चित गरेका छैनौं । उहाँले फिल्मको चरित्रलाई निभाउन सक्नुहुन्छ कि हुन्न भन्ने कुरा महत्त्वपूर्ण हो । उनी नीतिको अडिसन लिने योजनामा देखिएका छन् ।
यसअघि सन्तोषले निर्माण गर्ने भनिएको फिल्म ‘हुतुतु’मा पनि नीतिले काम गर्ने निश्चित भएको थियो । तर, यो फिल्म नै बन्न सकेन । त्यही पुरानै सम्झौतामा नीतिलाई ‘बलिदान’मा लिन खोजिएको चर्चा छ । उनी आगामी बैशाख अन्तिम साताबाट तराई क्षेत्रमा फिल्मको छायांकन सुरु गर्ने योजनामा छन् ।