बाँके । सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरिसकेको अवस्थामा बाँकेका राजनीतिक दलहरु दिनप्रतिदिन उम्मेदवार छनौट र प्रचारप्रसारमा होमिदै गएका छन् ।
बाँकेमा प्रतिनिधिसभाका ३ र प्रदेशसभाको ६ पदको लागी चुनावी प्रतिस्पर्धा हुनेछ भने, सत्ता साझेदार दल र नेकपा एमाले तथा क्षेत्र नम्बर दुईमा सत्ता साझेदार दलको उम्मेदवार, एमाले र राप्रपा विच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस्तोमा बाँके क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा र प्रदेश सभाको लागी नेकपा एसले आज सोमबार उम्मेदवारको नामावली टुंगोमा पुराउने बताइएको बेला सम्भावित उम्मेदवारको नाम चर्चामा आएको छ ।
बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा २०७० मा निर्वाचित समेत भएका पुर्व राज्यमन्त्री दल बहादुर सुनारको नाम चर्चामा रहेको छ । नेकपा एसका तर्फबाट सुनार प्रतिनिधि सभा सदस्यको लागी निर्बिकल्प उम्मेदवार हुन् । सत्ता साझेदार दलहरु बिच चुनावी तालमेल गर्ने सहमति भैसकेको अवस्थामा समेत बाँके क्षेत्र नम्बर ३ नेकपा एसको भागमा पर्न सक्ने आकलन गरिएको छ । गत निर्वाचनमा समेत क्षेत्र नम्बर ३ बाट तत्कालीन अवस्थामा नेकपा एमालेले जितेको क्षेत्र हो भने सोही क्षेत्र दलबहादुर सुनारको चुनावी क्षेत्र समेत हो । त्यस्तै प्रदेशसभाको लागी क्षेत्र नम्बर तीन (क) बाट नेकपा एसबाट दुई जनाको नाम सिफारिस हुने अनुमान गरिएको छ ।
नेकपा एमाले र माओवादी बिचको सहकार्य र एकताको केन्द्रमा भएको निर्वाचनको समयमा २०७४ मा क्षेत्र ३ (क) का लागी सिफारिस समेत भएका दिपक जिएमको नाम चर्चामा रहेको छ । हाल उनी नेकपा एस बाकेका सचिव तथा युवा संघ नेपालका केन्द्रिय महासचिव समेत हुन भने नम्बर ३ क बाटै नेकपा एसका तर्फबाट महिला नेतृ भगवती शाहको समेत नाम चर्चामा रहेको छ ।
त्यस्तै क्षेत्र नम्बर ३ (ख) मा नेकपा एसबाट एसका बाके जिल्ला अध्यक्ष इन्द्र बहादुर थापा, नेकपा एसका लुम्बिनी प्रदेश सदस्य लाल बहादुर खत्री र भद्र प्रसाद देवकोटाको चर्चा रहेको छ । नेकपा एस बाँके क्षेत्र नम्बर ३ (ख) का संयोजक ऋषि पोखरेलका अनुसार प्रदेश सभा सदस्यको लागी नेकपा एसबाट होम नाथ सापकोटा र टन्कर नाथ योगि समेतको सम्भावना रहेको भए पनि स्थानीय तहको निर्वाचनमा चुनावी प्रतिस्पर्धामा उत्री सकेका भएकाले नैतिकताका आधारमा पनि उनिहरुको दाबी नहुने बताएका छन् ।
स्रोतका अनुसार सम्भवत नेकपा एसले आफ्ना उम्मेदवारी भोलि सोमबार नै टुंगोमा पुराउने छ । भने सत्ता साझेदार दलहरूको भागबन्डामा नेकपा एसले बाँकेमा कहाँ र कति भाग पाउछ त्यो भने गर्भमै रहेको बताइएको छ ।