नेपालको संबिधान २०७२ मा उल्लेख भए अनुसार १६ देखि ४० वर्ष उमेर सम्मको समूह युवा वर्ग हो । सामान्य अर्थमा भन्दा युवा भनेको व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचान वा बाल्यकाल अवस्था पार गरिसकेको प्रौढ अवस्थामा पुगिनसकेको समूहका व्यक्तिलाई युवा भनिन्छ । युवा भनेको त्यस्तो समूह हो जसमा राष्ट्रको भविष्य, वर्तमानका साझेदार तथा समृद्धिको अग्र संवाहक बन्ने सामथ्र्य लुकेको हुन्छ । राष्ट्रिय युवा निति २०६६ ले युवाहरुलाई राष्ट्रको मुख्य सम्पत्तिको रुपमा व्याख्या गरेको छ । युवा अवस्था यस्तो अवस्था हो जसमा हजारौं बोतल मदिराको नशा छाउँछ । युवा भनेको यस्तो अवस्था हो, जो शरिरमा सास रहेसम्म निरन्तर आफ्नो मिसनमा लाग्न सक्दछ । संसारमा युवाको नै साम्राज्य हुन्छ । उ महासागरमा उछाल तरंग हरु समान उदण्ड हुन्छ । उ धेरै आशावादी हुन्छ । उसले सहजै अरुलाई विश्वास गर्दछ । यदि कुनै विशाल हृदयको आवश्यकता पर्दछ भने युवाहरुको हृदय भावुक हुन्छ । यदि समाजलाई वीरहरुको चाहना भयमा युवाहरु सँग मागे हुन्छ । भावुकता उसको सम्पत्ति हो । यदि युवा आफ्नो मिसनमा लाग्यो भने रातभर जाग्राम रहनु, जेठको घाममा सडक आन्दोलन गर्नु उस्का लागि सामान्य बिषय हुन जान्छ । उ साउनको झरीमा पनि रमाउन सक्दछ । समाजमा भएका विकृति, छुवाछुत ,बिसंगती र विविधता सजिलै छुटाउन सक्दछ । देशको लाली फेर्न सक्दछ । ठूला ठूला साम्राज्य ढालिदिन सक्दछ । यदि देशलाई रगतको भेटि आवश्यक परेपनि दिने युवा नै हो । यदि देश समृद्धि गर्न प्राण पसिनाको आवश्यता पर्यो भने त्यो दिने पनि युवानै हो । हरेक मानिसका दुई थरी दायित्व हुन्छन्, पहिलो आफ्नो परिवार र अभिभावक प्रतिको दायित्व, अर्को देश र समाज प्रतिको दायित्व हुन्छन् । तर युवाहरु पहिलो भन्दा दोस्रो दायित्वलाई अगाडि सारेर हिड्छन् । नेपालको हरेक राजनीतिक परिवर्तनमा मारिने पनि अधिकांश युवाहरु नै छन् । नेपालको प्रथम सहिद लखन थापा ४२ बर्षमा मारिएका थिए भने राणा शासन विरुद्ध लड्ने ४ जना सहिद पनि युवा अवस्थामा सहिद भएका थिए । युवाहरुलाई विहान उदाउँदै गरेको घामको रुपमा लिनु पर्दछ । अब युवा हरु आफ्नो देश आफै बनाउने अभियानमा लाग्नुपर्छ । भनिन्छ तन्नेरीहरु चाँडै निन्दा र तिरस्कार गर्छन् र तुरुन्तै भूलि पनि हाल्छन् । युवा नरहेको, बृद्ध नभएको कोहि पनि छैन वर्तमान समयमा युवा वर्गले भावी पुस्ताका लागि के काम गर्यो भन्ने मुल मुद्दा हो । त्यसैले युवाहरू राजनीतिबाट अलग हुन खोज्नु समस्या बाट भाग्नु हो र आफ्नो भविष्य आफुले नै निर्माण गरिदियोस् भन्नु हो। युवाहरू नयाँ प्रविधिको विषयमा निक्कै छिटो जानकार हुन्छन्। मानिसको जन्म हुन्छ प्रौढ हुन्छ बृद्ध हुन्छ र अन्त्यमा मर्छ त्यो अनिवार्य नियमलाई हामी सके सम्म वढी राष्ट्र निर्माणमा समय खर्चिनु पर्दछ।
आजको विश्व भनेको विश्वव्यापि करणको युग हो एक ठाउँमा उत्पादन भएको सामान विश्वको अर्को कुनाका ब्यक्तिले उपयोग गर्न सक्छन् । त्यसैले हामीले आजको यस विश्वब्यापि करणको युगमा युवाको भुमिकालाई सहि ढंगले सदुपयोग गर्नु पर्दछ । आजको प्राविधिक युगलाई युवा मैत्री बनाई युवा शक्तिलाई सदुपयोग गर्न सकेको खण्डमा राष्टिय आम्दानीमा समेत बृद्धि हुने देखिन्छ । आज १६ देखि ५९ बर्ष सम्मको उमेर समुहका मानिसहरुलाई आर्थिक मानव भनि उल्लेख गरेको पाईन्छ । अहिले देशमा देखिएको डरलाग्दो आर्थिक संकटको कारण उत्पादन मुखी ब्यवस्था नहुनु नै हो । नेपाली समाज मुलत कृषि प्रधान समाज हो तर कृषि परम्परागत निर्वाहमुखी ढर्रा बाट चलेको छ। हामिले कृषिमा वैज्ञानिकीकरण र व्यवसायिक करण गर्न सकेका छैनौ कृषिको सुधार विना हामिले हाम्रो आर्थिक प्रगति गर्न सक्दैनौ। हाल राजनीतिमा लागेका युवाहरुको प्रयोग अराजनीतिक, अराजकता , अनुत्पादक ,स्वार्थ केन्द्रित, व्यक्तिवादी भजन मण्डलीको रुपमा प्रयोग भएको छ। युवाहरुलाई देशमा उत्पादनशिल काम मा जति सक्दो बढी काम गरिनुको सट्टा नेपालको युवा शक्तिलाई नै कौडीको भाउमा बिक्री गर्ने काम भएको छ । हाल नेपालमा उत्पादनमुलक काम गर्ने संस्था भन्दा युवाहरुलाई खाडीमा विक्री गर्ने म्यानपावर कम्पनीहरु बढी संचालन गरेको पाईन्छ ।अप्रत्यक्ष रुपमा सरकार युवा वेचविखन अड्डा बन्न थालेको महसुस हुन थालेको छ । विदेश जानु कुनैपनि युवाको रहर होईन बाध्यता हो। हाल नेपालमा युवाहरु उत्पादन सँग नजोडिनु को बिभिन्न कारणहरु छन् र त्यो मध्य केही कारणहरु यहाँ उल्लेख गर्ने कोशिस गरेको छु ।
१। नेपाल सरकारले दिने सहुलियत पुर्ण ऋण तथा अनुदान सुबिधामा केही मुठ्ठिभर मान्छेको कब्जामा हुनु त्यो ब्यवहारिक रुपले प्रयोग मा नआउनु।
२। नेपालको प्रशासनिक संयन्त्र भ्रष्ट, ढिलासुस्ती, अपारदर्शिताले गर्दा प्रशासनिक क्षेत्रमा काम गर्न सक्ने अवस्था नहुनू।
३। उत्पादनशिल क्षेत्रमा लगानी गर्नको लागी प्रसस्त पुजिं नहुनु राज्यबाट कुनै किसिमको सहयोग नहुनु हो ।
४। उत्पादनको ग्यारेण्टी नहुनु बजारीकरण नहुनु व्यवसायिक सुरक्षा नहुनु नेपालको उत्पादनलाई अन्तरराष्ट्रिय बजार संग सहजरुपमा निर्यात गर्ने बातावरण बनाउन नसक्नु र ढुवानीको सेवा महङ्गो हुनु ।
५। प्रसस्त कोल्ड स्टोरको व्यवस्थापन नहुनुले कृषि उपजहरुलाईलामो समय भण्डारण गर्न नसक्नु ।
नेपालको २०६८ सालको जनगणना अनुसार ४०।३४ मानिस १६ देखि ४० बर्ष उमेर समुहको रहेको छ । तर हाल नेपालको राजनीति मुठ्ठिभर केहि ६० देखि ८० बर्ष उमेर समुहका नेताको कब्जा हुंदा अहिलेको बेरोजगारी बढेको छ । विभिन्न तथ्यांक अनुसार बर्षेनी पाँच लाख युवा नेपालको श्रम बजारमा आउँछन् तर पाँच प्रतिशतले मात्र रोजगार पाउछन् । देश भित्रको बेरोजगारी को भयावह स्थितिले युवाहरु रोजगारको लागी विदेशिन बाध्य छन् । दैनिक १००० देखि १५०० सम्म युवाहरु बैदेशिक रोजगारीको लागी विभिन्न मुलुकमा पलाएन भई नेपाली युवा वैदेशिक रोजगारको क्रममा थ्रि। डि अर्थात् डर्टि, डिफिकल्ट र डेन्जर का मर्न बाध्य छन् । देश छाडे देखि नफर्किँदा सम्मका सबै समय उसका लागि पीडादायी भए त्रासका बिच बाँच्नु पर्ने हुन्छ । अर्को तर्फ उच्च शिक्षाका नाममा विदेश पलायन हुने युवाहरुको पनि कमी छैन । नेपालमा गणतन्त्र पछिका १६ बर्ष झुठो, सपना बाँड्दा नै बितेको छ ।
नेपालमा अहिले सम्म भएका सबै राजनीतिक परिवर्तनको अग्र मोर्चामा रहँदै आएको युवा परिवर्तन पछि भने सधैं भुमिका विहीन हुँदै आएको छ । वर्तमानमा युवाको अस्तित्व अस्विकार गर्नु भनेको युवाको क्षमता प्रतिको अविश्वास हो । मानिसको काम गर्ने उर्जा युक्त उमेर भनेको २५ देखी ५० वर्ष हो यो उमेरमा मानिस जस्तो सुकै काम पनि फत्ते गर्ने हिम्मत राख्दछ। पचास वर्ष पुगेपछि उ सोच विचार गर्न थाल्छ ६० वर्ष कटेपछि उसलाई थकाई लाग्न थाल्छ, ७० वर्ष पछि उसलाई अल्छी लाग्छ खास केहि गर्ने जाँगर लाग्दैन त्यहि पनी उसले आफुलाई सक्षम देखाउन आफ्नो इतिहासको कुरा सुनाउन थाल्दछ।आफुलाई युवा नेता हुँ भन्नेहरू आफ्नो क्षमता वृद्ध गर्नु भन्दा पनि दिन रात नेताको मा राजनितिक, सांगठनिक कुरा भन्दा पनि स्वार्थ केन्द्रित, गैरकानुनी धन्दाबाट उन्मुक्तिको एजेण्डा लिएर नेताकोमै नजिक हुन लाग्ने र संगठन भित्र गुटबन्दी निर्माणमा समय खर्चिने कारण त्यो युवा सधै बृद्ध नेताको छत्र छायाँमा रहिरहन्छ र नेतालाई लाग्छ मेरो पछाडी सबै छन् मैले युवालाई प्रयोग गर्नु पर्छ भन्ने भान हुन्छ। राजनीतिक दलका नेताहरुमा उपभोक्तावादी सोंच कायमै रहन्छ र युवा हरुलाई भातृ संगठनको रुपमा मात्र सिमित गरेका छन्। युवा नभए पनि युवामैत्री सोच भएको व्यक्ति राजनीतिक दलको नेतृत्व र सरकारको नेतृत्व गर्न सक्यो भनेपनि युवाको क्षेत्रमा निकै काम हुन सक्छ । हाम्रो देशमा युवाहरुलाई सम्भावना होईन चुनौतिको रुपमा लिइन्छ ।अहिले नेपालका राजनितिक दलहरुका कार्यक्रमहरु विचार, सिद्दान्त, राष्ट्र निर्माण , उत्पादन संग देशलाई कसरी जोड्ने, बेरोजगारी अन्त्य कसरी गर्ने, शिक्षा, स्वास्थ्यका सुधारका विषयमा कहीं छलफल भएको देखिदैन केवल एउटा नेताले अर्कोलाई गाली गर्ने, चुड्किला भन्ने ति कार्यक्रमहरू गाईजात्रा हु कि आम सभा व्यानर हेरेर छुट्याउनु पर्ने अवस्था छ। अन्य मुलुकमा युवाहरुलाई परिवर्तन र विकासको संवाहक भनिरहँदा हामीकहाँ ठिक विपरित रुपमा लिइन्छ । त्यसैले आगामी निर्वाचनमा जतिसक्दो युवाहरुको प्रतिनिधित्व हुनेगरी छलफल र बहस गर्न जरुरी छ । आउदै गरेको निर्वाचनमा चुनाव चिन्ह होईन चुनावी एजेण्डा हेरेर मतदान गरी जतिसक्दो बढी युवा प्रतिनिधित्व गराउन लाग्नु पर्छ ।
सुशिल भट्टराई