नेपालले कतारलाई दुईवटा हात्ती उपहार दिन लागेको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणका क्रममा नेपाल सरकारले चितवन राष्ट्रिय निकुञ्जका दुईवटा हात्तीहरू उपहार दिन खोजेको हो।तर आवश्यक प्रकृयाहरू पुरा नभएका कारण अहिले नै हात्ती उपहार दिने सम्झौता हुने सम्भावना भने कम छ।
हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को अनुसूचीमा सूचीकृत छ। दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण र नियमन गर्न तयार पारिएको अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले हस्ताक्षर गरेको छ। वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रिराज ढुंगानाले नेपालबाट हात्तीहरू कतार पठाउनका लागि साइटिस सचिवालयले स्वीकृति दिइनसकेको बताए।
‘कतारबाट नेपालसँग हात्ती माग भएको पहिलेदेखि नै हो। नेपालका सरकार प्रमुखको दुईवटा भ्रमणका क्रममा कतारले हात्तीको माग गरेको थियो। तर हात्ती साइटिसको अनुसूचीमा सूचीकृत भएकाले अर्को देशमा पठाउने प्रकृया लामो छ,’ उनले भने, ‘अझै पनि हस्तान्तरण भएर त्यहाँसम्म पुग्न केही समय लाग्ने देखिएको छ।’
नेपालले पठाउन खोजको हात्तीहरूको पहिचान भने भइसकेको प्रवक्ता ढुंगानाले बताए। ‘पहिचान गर्नुअघि हात्ती लगेर राख्ने ठाउँको अवस्था कस्तो छ, अनुकूल छ कि छैन भनेर चितवन निकुञ्जका पशु चिकित्सकसहितको टोली त्यहाँ पुगेर अध्ययन गरेको थियो,’ उनले भने, ‘हात्तीलाई चितवनदेखि काठमाठौं हुँदै कतारसम्म पुर्याउन कन्टेनर तयार पार्नुपर्यो। जहाज पनि त्यसलाई हालेर लैजान मिल्ने हुनुपर्यो। सबै कुरा मिलेपछि पठाउने हो।’