काठमाडौं । पछिल्लो समय विश्वमा एआईको विकाससँगै ह्युमनोइड रोबोटको चर्चा बढ्दो छ । सन् २०२२ सम्म विश्व बजारमा ह्युमनोइड रोबोटिक्सको मार्केट १.३ बिलियन अमेरिकी डलर रहेको ‘ग्लोबल रणनीतिक व्यापार रिपोर्ट’ ले उल्लेख गरेको थियो ।
गत वर्षमात्रै विश्वका धनाढ्यमध्ये एक एलन मस्कको कम्पनी टेस्लाले सार्वजनिक गरेको ‘ओप्टिमस जीन २’ ह्युमनोइड रोबोट हो । सामान्य काम गर्नेदेखि बोल्नसक्नेसम्मका रोबोट बनिसकेका छन् ।
ह्युमनोइड रोबोट मानवकै प्रतिमूर्ति हो । कलकारखानामा काम गर्न लामो समयअघिबाटै रोबोट बनाइएको थियो । तर, मानवीय आकारमा बनाइएको रोबोटले विश्वभर नै चर्चा पाएको छ । त्यसैले ठूल्ठूला कम्पनीहरुले ह्युमनोइड रोबोट निर्माणमा लगानी गरिरहेका छन् । यसको पछिल्लो उदाहरण च्याट जीपीटी निर्माता कम्पनीमा आधारित ‘फिगर ०१’ नामक ह्युमनोइड रोबोट हो ।