काठमाडौं । आईसीसी टी- २० विश्वकप क्रिकेटमा पपुवा न्युगिनी (पीएनजी)लाई हराउँदै अफगानिस्तान सुपर ८ मा प्रवेश गरेको छ । शुक्रवार बिहान भएको खेलमा अफगानिस्तानले पीएनजीलाई ७ विकेटले पराजित गरेको हो । पीएनजीले दिएको ९६ रनको लक्ष्य अफगानिस्तानले १५ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
अफगानिस्तानका गुलबदीन नवीले नटआउट ४९ रन बनाउदा मोहम्मद नवी १६ रनमा अविजित रहे । बलिङमा पीएनजीका नोरमन भानुआ, एली नाउ र सेमो कामियाले १-१ विकेट लिए ।त्यसअघि पहिला ब्याटिङ गरेको पीएनजी १९ ओभर ५ बलमा ९५ रनमा समेटिएको थियो। पीएनजीका किप्लिन दोरिगाले सर्वाधिक २७ रन जोडे । अफगानिस्तानका फजलहक फारुकीले ३ विकेट लिए ।
लगातार तेस्रो जित निकाल्दै अफगानिस्तान सुपर ८ मा पुगेको हो । अफगानिस्तानले यसअघि युगाण्डा र न्युजिल्यान्डलाई पराजित गरेको थियो । सोही समूहबाट ३ खेलमा ३ जित निकाल्दै वेस्ट इन्डिज पनि सुपर ८ मा पुगेको छ ।